बजार घट्दा पनि कमाउन सकिने ‘सर्ट सेलिङ’ प्रणाली ल्याउँदै धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा ‘सर्ट सेलिङ’ प्रणाली लागू गर्ने तयारी गरेको छ। प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजार बढ्दा मात्र होइन, घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने व्यवस्था गर्न सर्ट सेलिङ प्रणाली कार्यान्वयनको तयारी भइरहेको जानकारी दिएका हुन्।

उनले नेपालमा सेयर बजार सधैं उकालो लागिरहनुपर्छ भन्ने धारणा रहेको उल्लेख गर्दै कुनै पनि देशको पूँजी बजार निरन्तर बढिरहन नसक्ने बताए। बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाब आउने गरेको भन्दै उनले बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष र प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्नु मात्र भएको स्पष्ट पारे।

अध्यक्ष भट्टका अनुसार सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले सेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। त्यसपछि मूल्य घटेपछि सोही सेयर खरिद गरी फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा आर्जन गर्न सकिनेछ। बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने हालको जस्तै सेयर खरिद गरी मूल्य वृद्धि भएपछि बिक्री गरेर प्रतिफल लिन सक्नेछन्।

उनले नयाँ व्यवस्थाले बजार अनिवार्य रूपमा बढ्नैपर्छ भन्ने एकतर्फी मनोविज्ञान अन्त्य हुने र लगानीकर्ताले आफ्नै अध्ययन तथा विश्लेषणका आधारमा निर्णय गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे। लगानीसम्बन्धी निर्णय पूर्ण रूपमा लगानीकर्ताको विवेकमा निर्भर रहने उनको भनाइ छ।

अध्यक्ष भट्टले बजारमा फैलिने अफवाह नियन्त्रण गर्न आवश्यक नीतिगत व्यवस्था ल्याउने तयारी भइरहेको पनि बताए। सम्पत्ति छानबिन तथा अन्य सरकारी कारबाहीका कारण लगानीकर्ताको मनोबल प्रभावित भएको गुनासो आएको उल्लेख गर्दै उनले यस्ता विषयमा सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर काम गरिने बताए।

उनले नेपालको पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन बोर्डले हालै ‘नेपालको पूँजी बजार विकास मार्गचित्र–२०८३’ सार्वजनिक गरेको जानकारी समेत दिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय