काठमाडौँ — साप्ताहिक कारोबारको पहिलो दिन, आइतबार नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा पुगेको छ। अघिल्ला दुई दिन लगातार घटेको नेप्सेले आइतबार पनि यही प्रवृत्ति देखाएको हो।
आइतबार ९१ कम्पनीको सेयर मूल्यमा वृद्धि भए पनि १४१ कम्पनीको सेयर मूल्य घट्यो। ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। कुल ५६ हजार ६४६ पटकको कारोबारमा १ करोड ११ लाख ३४ हजार १७८ कित्ता सेयर किनबेच भएको थियो, जसमा ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो। १३ उपसमूहमध्ये बैकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, सामुहिक लगानी कोष, निर्जीवन बीमा र अन्यका परिसूचकमा गिरावट देखिएको छ भने बाँकी उपसमूहको परिसूचकमा वृद्धि भएको छ।