काठमाडौं । लगातार सात कारोबार दिनदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार भने उल्लेख्य सुधारसहित बढेर बन्द भएको छ। लगानीकर्ताको मनोबलमा सुधार देखिएसँगै बजारमा खरिद चाप बढ्दा नेप्से ४४.५९ अंकले उकालो लागेर २६५२.९३ विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स ५.७७ अंक बढ्दा फ्लोट इन्डेक्स २.८२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०४ अंकले वृद्धि भएको छ। बजारमा सूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। मंगलबार ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ३६२ कम्पनीको ९५ लाख ४७ हजार कित्ता शेयर ५६ हजार ८५० पटक किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँ पुगेको छ।
कारोबारमा स्नो रिभर्स इन्डस्ट्रीजको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। कम्पनीको शेयर मूल्य ६८ रुपैयाँ १० पैसा बढेर ५२२ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। यस्तै, सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १४ प्रतिशतभन्दा बढी र भुजुङ हाइड्रोपावरको शेयर मूल्य करिब १४ प्रतिशतले बढेको छ। विपरीत, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ५.२१ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रहेको छ। बैंकको २८ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको करिब १७ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार हुँदा आँखुखोला जलविद्युत कम्पनीको १७ करोड रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
बजारमा उत्साह व्यापक रूपमा फैलिएको देखिएको छ। बुधबार कारोबारमा आएका सबै १३ उपसमूहका परिसूचक हरियो भएका छन्। जसमध्ये व्यापार उपसमूह सर्वाधिक २.६० प्रतिशतले बढेको छ। जलविद्युत, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढ्दा बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त तथा अन्य उपसमूहमा पनि १ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।
लगातारको गिरावटपछि बजारमा आएको यो सुधारलाई लगानीकर्ताले सकारात्मक संकेतका रूपमा लिएका छन्। यद्यपि आगामी दिनमा बजारको दिशा कारोबारको मात्रा, नीतिगत संकेत तथा लगानीकर्ताको मनोविज्ञानमा निर्भर रहने विश्लेषकहरूको भनाइ छ।