आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४५.९३ अंकले घट्दै २६०० को विन्दुमा झरेको छ। मङ्सिर १० गते २६८३ को विन्दुमा रहेको नेप्से १२ दिनपछि पुनः २६०० को विन्दुमा आएको हो।
बजार घटेसँगै कारोबार रकम पनि घटेको छ। आज ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको १ करोड ७३ लाख कित्ता सेयर किनबेच भएको छ। ३२१ वटा कम्पनीको कारोबारमा २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घटेको छ। तीन कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
सामूहिक रूपमा सबै १३ उपसमूह राताम्मे भएका छन्। जीवन बीमा समूहमा सबैभन्दा धेरै ३.०७ प्रतिशतले गिरावट आएको छ भने उत्पादन तथा प्रशोधन समूहमा सबैभन्दा कम ०.३२ प्रतिशतको गिरावट भएको छ।
अन्य उपसमूहमा वाणिज्य बैंक १.८६ प्रतिशत, विकास बैंक १.०४ प्रतिशत, फाइनान्स १.८४ प्रतिशत, होटल तथा पर्यटन १.८१ प्रतिशत, हाइड्रोपावर १.९८ प्रतिशत, र लगानी समूह १.३३ प्रतिशतले घटेका छन्।
आजको गिरावटले लगानीकर्तालाई थप चुनौती थपेको छ भने सेयर बजारले छोटो अवधिमा सुधारको संकेत नदेखाएको विश्लेषकहरूले बताएका छन्।