काठमाडौं - मंगलबार नेप्से परिसूचक ५५ अंकले घटेको छ । नेप्से सूचक २५८४.८८ मा पुगेको छ। यस दिन ५ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। विशेषगरी, नारायणी डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको वित्तीय अवस्था कमजोर भए पनि मूल्य उच्च पुगेपछि लगानीकर्ताले एक्जिट लिँदा यसको भाउमा भारी गिरावट आएको अनुमान गरिएको छ।
सबै समूहका सूचक ओरालो लागेको यस दिन राजनीतिक घटनाक्रमले थप असर गरेको छ। सरकारले विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने निर्णय गरेपछि सरकारको स्थिरतामै प्रश्न उठेको छ। यसले समग्र राजनीतिक वातावरणलाई अन्योलग्रस्त बनाएको छ भने सडक आन्दोलनको सम्भावना बढेको विश्लेषण गरिएको छ।
यही कारण सेयर बजारमा झनै ठूलो गिरावट आएको हो। राजनीतिक अस्थिरताका कारण लगानीकर्ताको मनोबल कमजोर भएको र त्यसको प्रत्यक्ष प्रभाव बजारमा परेको बताइन्छ। लामो समयदेखि गिरावटमा रहेको बजार सोमबार सामान्य सुधार भएको थियो। धेरैले करेक्सन चक्र पूरा भई स्थायित्व आउने अपेक्षा गरेका थिए। तर सरकारको पछिल्लो निर्णयले पुनः अन्योल पैदा गरेको छ, जसले सेयर बजारमा नकारात्मक असर पारेको छ।