काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।
चीनको ग्वाङझाउमा सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औँ एसिया प्यासिफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिँदै अर्थमन्त्री वाग्लेले सरकारले लगानीको वातावरण निर्माण गर्न तथा देशभित्र रोजगारीका अवसर सिर्जना गर्न विभिन्न नीतिगत सुधार अघि बढाइरहेको बताएका हुन्।
उनले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापनका क्षेत्रमा लगानी गर्न प्रवासी नेपालीलाई आग्रह गरे। ‘प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस्। पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्नुहोस्,’ उनले भने।
सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको उल्लेख गर्दै वाग्लेले बजेटमार्फत २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण निर्माण गर्न काम भइरहेको बताए। सम्मानजनक रोजगारी सिर्जना गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ।
सरकारको आम्दानी बढाउन कर प्रणालीमा समेत सुधार गरिएको बताउँदै उनले आर्थिक सुधारको सुरुआत भएको उल्लेख गरे। पहिलो वर्ष सुधारको आधार तयार पारिएको र आगामी वर्षहरूमा त्यसको परिणाम देखिने उनको दाबी छ।
‘पहिलो वर्ष सुधारको सुरुआत गर्यौँ, दोस्रो वर्ष अझै फराकिलो सुधारको काम अघि बढ्नेछ। तेस्रो र चौथो वर्ष सुधारको नतिजा देखिनेछ। चौथो र पाँचौँ वर्षमा यसको प्रतिफल जनताले पाउनेछन्,’ अर्थमन्त्री वाग्लेले भने।
आर्थिक लक्ष्य हासिल गर्न आन्तरिक स्रोत महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले बाह्य लगानीको स्रोत चुनौतीपूर्ण अवस्थामा रहेकाले प्रवासी नेपालीको पुँजी, ज्ञान र सीप नेपालका लागि आवश्यक रहेको बताए।
प्रवासमा रहेको पुँजी र लगानी परिचालन गर्ने विषय सरकारको प्राथमिकतामा रहेको पनि उनले बताए। डायस्पोराको लगानी र ज्ञान नेपाल भित्र्याउने उद्देश्यले सरकारले नीतिगत व्यवस्था अघि बढाएको उनको भनाइ छ।
वाग्लेका अनुसार सरकारले धितोपत्र बाँडफाँट तथा निष्काशन नियमावलीमा संशोधन गरी नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फन्डबाट जारी हुने सेयरको हिस्सा ८५ प्रतिशत पुर्याएको छ। यसले प्रवासी नेपालीको लगानी नेपाल भित्र्याउन थप सहज हुने सरकारको अपेक्षा छ।
सरकारले रुग्ण उद्योगलाई समेत पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले त्यस्ता उद्योगमा प्रवासमा रहेका नेपालीको ज्ञान, सीप र लगानी परिचालन गर्न सकिने बताए।