काठमाडाैं - बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २०.४१ अंकले घट्दै २६४५.३९ विन्दुमा पुगेको छ। प्रि-ओपन सेसनमा ९ अंकले बढेर खुलेको नेप्से बजार बन्द हुँदा ०.७६ प्रतिशतले घटेको हो।
बजारमा ६ अर्ब २७ करोड ८९ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता शेयर कारोबार भएको छ। कुल ३२४ वटा कम्पनीको शेयर कारोबारमा आएकोमा ७६ वटा कम्पनीको शेयर मूल्य बढेको छ, १५५ वटा कम्पनीको घटेको छ, र १३ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
बुधबार सबैभन्दा बढी वाणिज्य बैंक समूह १.७० प्रतिशतले घटेर १ हजार ५३९.२५ विन्दुमा पुगेको छ। म्युचुअल फन्ड समूहमा सबैभन्दा कम ०.०१ प्रतिशतको गिरावट आएको छ। दुई समूह—फाइनान्स र ट्रेडिङ समूह—बाहेक बाँकी सबै समूह राताम्य भएका छन्।
फाइनान्स समूह २.३२ अंकले बढेर ३ हजार ३६०.५८ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.२५ प्रतिशतले बढेर ३ हजार ६१५.६२ विन्दुमा पुगेको छ। अन्य समूहमा विकास बैंक, होटल एण्ड टुरिजम, हाइड्रोपावर, जीवन बीमा, लघुवित्त, र उत्पादन समूहहरूमा पनि सामान्य गिरावट देखिएको छ।