रोकिएका आइपिओको निष्कासन प्रक्रिया धमाधम अघि बढ्दै

काठमाडाैं - नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले रोकिएका IPO फाइल अघि बढाउन निर्देशन दिएका छन्। आइतबार बोर्डका कर्मचारीहरूसँगको बैठकमा अध्यक्ष श्रेष्ठले काम कारबाहीबारे जानकारी लिँदै अड्किएका फाइलहरू छिटो अघि बढाउन आदेश दिएको एक कर्मचारीले जानकारी दिए।

निर्देशनपछि लामो समयदेखि थन्किएका IPO फाइलहरू क्रमिक रूपमा खोल्न थालिएको छ। तर सबै फाइल एकैपटक अघि बढ्ने सम्भावना छैन। कतिपय कम्पनीको कागजात पुराना भएका कारण पुनः अपडेट गर्नुपर्नेछ भने केहीको रेटिङ म्यादसमेत सकिएको छ। आवश्यक कागजात पूरा गरेका कम्पनीहरूले भने आउने सातादेखि स्वीकृति पाउनेछन्।

दोस्रो बजारमा धेरै IPO एकैपटक स्वीकृत गर्दा प्रभाव पर्न सक्ने भएकाले बोर्डले यसमा सतर्कता अपनाएको छ। तर, कर्मचारीहरूको एकथरी समूहले तरलता पर्याप्त भएकाले अहिले नै स्वीकृति दिन उपयुक्त हुने तर्क गरेका छन्।

हाल बोर्डमा ७६ वटा कम्पनीका IPO फाइल पाइपलाइनमा छन्। यी कम्पनीहरूले ४८ अर्ब ५८ करोड रुपैयाँ बराबरको ३३ करोड ३४ लाख कित्ता शेयर निष्कासनका लागि अनुमति मागेका छन्। हाइड्रोपावर समूहका ३७ वटा कम्पनीले सबैभन्दा धेरै निवेदन दिएका छन्। होटल, उत्पादन, लगानी, लघुवित्त र माइक्रो इन्स्योरेन्स समूहका कम्पनीहरूले पनि क्रमिक रूपमा IPO स्वीकृतिको प्रक्रिया अघि बढाइरहेका छन्।

अध्यक्ष श्रेष्ठले सबै कम्पनीलाई क्रमबद्ध रूपमा कागजात पूरा गरेर ल्याउन निर्देशन दिएका छन् र प्राथमिक निष्कासनलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने आश्वासन दिएकाछन्।

प्रतिक्रिया