नेप्सेमा गिरावट जारी, पाँच उपसमूहमात्रै हरियो

काठमाडौँ-तिहार विदा पछि लगातार तेस्रो दिन बुधबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। लगातार घटिरहेको बजारले आज पनि उही प्रवृत्ति दोहोर्‍याउँदै १.८८ अंक घटेर २६७५.५१ बिन्दुमा पुग्यो। यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८१ अंकले घट्यो, फ्लोट इण्डेक्स ०.१६ अंकले, र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंकले घटेको छ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा बुधबारको कारोबार रकम ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ पुगेको छ। ३२० कम्पनीका १ करोड १६ लाख कित्ता शेयरको ५५ हजार २३८ पटक कारोबार भयो।

आज नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यस्तै, पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी र समृद्धि फाइनान्सको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ।

दोस्रोतर्फ, कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्यमा नकरात्मक सर्किट लगाएर ९.५५ प्रतिशतले घट्यो, र नेपाल फाइनान्सको शेयरमूल्य साढे ८ प्रतिशतले घटेको छ।

साताको अन्तिम कारोबार दिन बुधबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको र ८ उपसमूहको परिसूचक घटेको छ। भोलि छठ पर्वका कारण बजार बन्द हुनेछ।

प्रतिक्रिया