लगातारको गिरावटपछि शेयर बजारमा चमक, नेप्से १७ अंकले वृद्धि

काठमाडौं - लगातारको गिरावटपछि नेपाल शेयर बजारमा पुनः सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार १७.२८ अंकले वृद्धि भई २७३६.४८ विन्दुमा पुगेको छ। पछिल्लो १० दिनदेखि लगातार घट्दै आएको नेप्सेमा आज सुधार देखिएपछि लगानीकर्तामा केही राहत महसुस भएको छ।

यसअघि फागुन १८ गते नेप्से ७५.२४ अंकले उकालो लागेको थियो। तर त्यसपछि बजार ओरालो लागेको थियो। आजको ०.६३ प्रतिशतको वृद्धि लगानीकर्ताका लागि सकारात्मक संकेत मानिएको छ। कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ। आज ८ अर्ब २३ करोड ५३ लाख ६८ हजार रुपैयाँ बराबरको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता शेयर किनबेच भएको छ, जुन पछिल्ला केही दिनको तुलनामा उच्च हो।

आजको कारोबारमा ३२३ वटा कम्पनी सहभागी भएका थिए, जसमा १४६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ वटा कम्पनीको मूल्य घटेको छ। यस्तै, १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ। कुल ७९ हजार २३६ पटक कारोबार हुँदा बजारमा पुनः हरियाली देखिएको छ।

लगानीकर्ताले पछिल्ला केही दिनमा निरन्तर ओरालो लागेको बजारका कारण चिन्ता व्यक्त गरिरहेका थिए। तर आजको सुधारले उनीहरूलाई केही हदसम्म आशावादी बनाएको छ। विश्लेषकहरूका अनुसार बजारको लामो समयदेखिको गिरावटपछि यस्तो सुधार आउनु सकारात्मक संकेत हो। तर आगामी दिनमा बजारको अवस्था कसरी अघि बढ्छ भन्ने कुरा विभिन्न आर्थिक नीतिहरू, बैंक ब्याजदर र लगानीकर्ताको मनोवृत्तिमा निर्भर गर्नेछ।

प्रतिक्रिया