राजनीतिक अन्योल घट्ने संकेतसँगै सेयर बजारमा हरियाली

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच राजनीतिक समझदारी बनेको खबरपछि सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उल्लेख्य अंकले बढेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढ्दै २६३३.४२ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ८.२५ अंक, फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले बढेको छ। अघिल्ला केही कारोबार दिन सामान्य सुधार देखिएको बजारमा आइतबार भने उच्च अंकको उछाल आएको हो।

बजारका जानकारहरूका अनुसार लामिछाने पार्टीको केन्द्रीय सभापतिमै रहने र आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सार्ने सहमतिले राजनीतिक अन्योल घट्ने संकेत दिएको छ। सरकारले तोकेको समयमै निर्वाचन हुने अपेक्षा बढेसँगै लगानीकर्ताको मनोबल उच्च हुँदा बजारमा सुधार आएको विश्लेषण गरिएको छ।

यस दिन सेयर कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब २२ करोड रुपैयाँमा सीमित रहेको कारोबार आइतबार ३२८ स्टकका ८९ हजार २५१ पटकको कारोबारमार्फत ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ नाघेको छ। कुल १ करोड ३४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ।

कारोबारका क्रममा मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.४९ प्रतिशतले बढेको छ। त्यसैगरी जोशी हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको सेयर मूल्य क्रमशः करिब ७ प्रतिशत र साढे ६ प्रतिशतभन्दा बढीले बढेको छ। यता विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर शीर्ष स्थानमा रहँदै २७ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। मञ्जुश्री फाइनान्स र सिनर्जी पावर डेभलपमेन्ट पनि उच्च कारोबार गर्ने कम्पनीमा परेका छन्।

आइतबार सबै १३ उपसमूहका परिसूचक बढेका छन्। वित्त उपसमूह सर्वाधिक २.७० प्रतिशतले बढ्दा विकास बैंक र अन्य उपसमूह २ प्रतिशतभन्दा बढीले उक्लिएका छन्। बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत, लगानी, बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहमा पनि १ प्रतिशतभन्दा बढीको सुधार देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय