शेयर बजारमा सुधार, नेप्से २२.२१ अंकले उकालो

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि पहिलो कारोबार दिन ओरालो लागेको शेयर बजार दोस्रो दिन भने सुधारसहित बन्द भएको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २२.२१ अंकले बढेर २ हजार ७७७.५८ विन्दुमा पुगेको हो।

आज नेप्से ०.८० प्रतिशतले वृद्धि हुँदा कुल ५ अर्ब २६ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबार अवधिमा १ करोड १३ लाख ८३ हजार ४३१ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।

बजारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको देखिएको छ। कारोबारमा सहभागी ३४६ कम्पनीमध्ये १८१ कम्पनीको शेयर मूल्य उकालो लाग्दा ८० कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।

दिनभर ६१ हजार ५०७ पटक शेयर कारोबार भएको थियो। अघिल्लो कारोबार दिन बजेटप्रति लगानीकर्ताको मिश्रित प्रतिक्रिया देखिए पनि मंगलबारको सुधारले बजारमा सकारात्मक संकेत देखाएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया