काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साहजनक वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३०.७५ अंकले उक्लिँदै हरियो बन्द भएको हो। यसअघि बिहीबारको कारोबार दिन पनि नेप्से ३४.२२ अंकले बढेको थियो।
सेयर बजार परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। आजको कारोबारमा ३१९ कम्पनीका २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर खरिद–बिक्री भएका छन्, जसबाट कुल ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
गत बिहीबार भने ३१९ कम्पनीका करिब २ करोड ६० लाख कित्ता सेयर ७ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको थियो।
आजको बजारमा सामुदायिक लघुवित्त वित्तीय संस्था, गोर्खाज फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर लिमिटेड र तेह्थुम पावर कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी गुहेश्वरी मर्चन्ट बैंक र उन्नति सहकार्य लघुवित्तका सेयर मूल्य क्रमशः ९.९८ र ९.८८ प्रतिशतले बढेका छन्।