मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढेर २६१९ अंकमा पुगेको छ। बजार खुलेदेखि बन्द हुँदासम्म नेप्से परिसूचक कुनै पनि समयमा घट्न नपाउँदै सकारात्मक अवस्थामा रह्यो र बन्द हुँदाको अंक नै दिनभरको उच्चतम स्तर बन्यो। यस दिन १८७ कम्पनीको सेयर मूल्य बढ्दा ६१ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रह्यो। अघिल्लो दिन ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब २९ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
समूहगत रूपमा हेर्दा व्यापार समूहबाहेक सबै समूहका सूचकमा सुधार देखिएको छ। व्यापार समूहको सूचक ०.०१ प्रतिशतले घटेको छ भने बैंकिङ ०.३५, विकास बैंक १.५६, फाइनान्स ०.४१, होटल तथा पर्यटन १.४९, जलविद्युत् ०.७७, लगानी ०.६८, जीवन बीमा ०.६९, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.८६, निर्जीवन बीमा ०.८९ र अन्य समूह १.१५ प्रतिशतले बढेका छन्।
मंगलबार तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वस्तिक लघुवित्त, एसवाई प्यानल र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। यस्तै, बाराही हाइड्रोपावरको सेयर मूल्य ७.०४ प्रतिशत र लुम्बिनी विकास बैंकको ५.८१ प्रतिशतले वृद्धि भएको छ। घट्ने कम्पनीतर्फ स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.१६ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा ङादी ग्रुप, लुम्बिनी विकास बैंक, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र राधि विद्युत् अग्रस्थानमा रहेका छन्।