काठमाडौँ – सरकारले नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न अनुमतिपत्र दिने प्रक्रिया अघि बढाएको छ। पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी अध्ययन प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको हो।
धितोपत्र बजार सञ्चालनका लागि नेपाल राष्ट्र बैंकका संचालक समिति सदस्य चिन्तामणि शिवाकोटीको नेतृत्वमा गठित समितिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन सकिने वा हालको नेपाल स्टक एक्सचेन्जलाई पुनःसंरचना गर्न सकिने सुझावसहित प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदन अर्थ मन्त्रालयमा पुगेपछि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन प्रक्रिया सुरु हुने बताइएको छ।
धितोपत्र बोर्डले २०७९ चैतमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन खुला गरेको थियो। प्रतिस्पर्धामा तीन कम्पनीले आवेदन दिएका छन्–
हिमालयन स्टक एक्सचेन्ज
नेशनल स्टक एक्सचेन्ज
अन्नपूर्ण स्टक एक्सचेन्ज
हिमालयन स्टक एक्सचेन्जमा शंकर ग्रुपका शंकर अग्रवाल, इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट, र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरु शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा प्रमुख लगानीकर्ता छन्। नेशनल स्टक एक्सचेन्जमा एनआरएनएका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने र कुल आचार्य लगायतको लगानी रहेको छ।अन्नपूर्ण स्टक एक्सचेन्जमा सुरेन्द्रराज वाग्ले र अनिल सापकोटा प्रमुख लगानीकर्ता हुन्।
बोर्डले आवेदनको मूल्यांकन गर्न बनाएको समितिले तीन वटै कम्पनीको प्रस्ताव विश्लेषण गरी सिफारिस गरिसकेको छ। बोर्डको नियमावलीअनुसार विदेशी स्टक एक्सचेन्जको प्राविधिक सहायता लिएको कम्पनीलाई बढी अंक प्रदान गरिने भएकाले हिमालयन स्टक एक्सचेन्जलाई लाइसेन्स प्राप्त गर्ने सम्भावना बलियो मानिएको छ। नयाँ स्टक एक्सचेन्जको स्थापना सँगै नेपालको पूँजी बजारमा प्रतिस्पर्धा बढ्ने र विदेशी लगानी भित्र्याउने विश्वास गरिएको छ।