काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले घटेको छ। नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ मा झरेको हो। बजारमा आज ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। योसँगै लगातार छैटौं दिन बजार घटेको हो। बीचमा सामान्य वृद्धि भए पनि त्यसअघि लगातार सात दिनसम्म बजार ओरालो लागेको थियो।
आज कारोबार भएका २४३ कम्पनीमध्ये २३० वटाको मूल्य घटेको छ भने १३ वटाको मात्र मूल्य बढेको छ। कुल १३ वटा व्यापारिक समूहमध्ये ८ वटाको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ। म्युचुअल फण्ड समूहमा भने एक प्रतिशतभन्दा कमको गिरावट देखिएको छ।
मिथिला लघुवित्तको सेयर मूल्यमा मात्र नकारात्मक सर्किट लागेको छ भने थप १० वटा कम्पनीको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ। सबैभन्दा धेरै मूल्य वृद्धि हुने कम्पनी कुथेली भुकारी स्मल हाइड्रोपावर रहेको छ, जसको सेयर मूल्य ८.७२ प्रतिशतले बढेको छ। अन्य कम्पनीको वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो। त्यसपछि क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी रहेका छन्। कारोबार संख्याका आधारमा पनि हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहँदा कारोबार भएका सेयर संख्यामा घलेम्दी हाइड्रोपावर अगाडि देखिएको छ।
बजारको उच्च गिरावटका बाबजुद कारोबारमा भएको सुधारले केही सकारात्मक संकेत देखिएको छ। पछिल्लो साता औसत ५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा आज कारोबार सवा ६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। बजार घट्दा कारोबार बढ्नुले घट्दो मूल्यको फाइदा उठाउँदै नयाँ लगानीकर्ताहरू प्रवेश गरेको संकेत गरेको विश्लेषकहरू बताउँछन्।