सर्वसाधारणलाई टेलिकमको ३ करोड कित्ता शेयर बिक्री गर्ने प्रक्रिया रोकियो, यस्तो छ कारण

काठमाडौं–सरकारले नेपाल टेलिकमको शेयर उपभोक्तालाई दिने गत जेठ १५को बजेटमा घोषणा गरेको थियो । सरकारी घोषणा अनुसार २२ प्रतिशत शेयर विनिवेस गर्ने भनिएको थियो । विनिवेस गरिएको शेयर टेलिकमका सेवाग्राहीलाई दिइने बजेटमा उल्लेख थियो । घोषण अनुसार करिव तीन करोड एक लाख ९५ हजार कित्ता शेयर सर्वसाबधारणको लागि बिक्रि गर्ने तयारी थियो ।


बजेटमा घोषणा गरेको विषय कहिले कार्यान्वयन होला भनेर आम सर्वसाधारण र लगानीकर्तालाई चासो छ । केपी ओली नेतृत्वको सरकारले यो कार्यक्रम ल्याएको थियो । सरकार परिवर्तनसँगै अर्थमन्त्री र अर्थ मन्त्रालयका सम्पूर्ण पदाधिकारी नै परिवर्तन भएकाले यो विषय प्राथमिकतामा राखेका छैनन् । बजेटमा विनियमावली बनाएर असोज मसान्तसम्म टेलिकमको शेयर विनिवेशसम्बन्धी विस्तृत प्रक्रिया र मूल्यको विवरण टुंङ्याउने भने पनि अहिलेसम्म यसमा केही पनि प्रगति भएको छैन । यो विषयमा छलफल नै नभएको टेलिकम सञ्चालक समितिका सदस्य अम्बिका प्रसाद पौडेलले बताए ।


टेलिकमको चुक्तापुँजी १५ अर्ब रुपैयाँ छ । टेलिकमको कूल १५ करोड कित्ता शेयर सूचीकृत छन् । जस मध्ये सरकारको ९१.५३ प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस अनुसार सरकारको १३ करोड ७२ लाख ५० हजार कित्ता शेयर सूचिकृत छ । सरकारको स्वामित्वबाट २२ प्रतिशत हुन आउने तीन करोड एक लाख ९५ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रि गर्ने देखिन्छ ।


टेलिकमको प्रति कित्ता शेयरको नेटवर्थ ६ सय ५३ रुपैयाँ १० पैसा छ । नियामक निकायले प्रिमियममा शेयर निष्कासन गर्ने कम्पनीको सबैभन्दा पहिले नेटवर्थ लाई प्राथमिकता दिने गर्छ । त्यसलाई आधार मान्ने हो भने कम्पनीको शेयर मूल्य ६ सय रुपैयाँ भन्दा माथिमै सर्बसाधारणकालागि बिक्रि खुला हुने सम्भावना छ ।


सरकारको लगानी रहेको यस कम्पनीको शेयर थप बिक्री गरेर सरकारले पैसा फिर्ता गर्न चाहेको छ । नेपाल दूरसञ्चार कम्पनीमा सरकारको ९१.५३ प्रतिशत सेयर स्वामित्व रहेको छ । अहिले नेपाल टेलिकममा सरकारको ९१.५० प्रतिशत शेयर स्वामित्व छ । यसैगरी, अन्य शेयर भने सर्वसाधारण, नागरिक लगानी कोष र सञ्चार मन्त्रालयको नाममा छन् । जसमा सर्वसाधारणको ८.४७ प्रतिशत छ । जसमा सर्वसाधारण शेयर धनीको ४.४४ प्रतिशत र कर्मचारीको ४.०४ प्रतिशत तथा कोषको ०.०३ प्रतिशत र वाकी रहेको शेयर स्वामित्व सञ्चार मन्त्रालयको नाममा छ । 


 

प्रतिक्रिया