महुली लघुवित्तको एफपीओमा पुस ५ देखि आवेदन दिन सकिने

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ। लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउन एफपीओ निष्कासन गर्न लागेको हो।

लघुवित्तले ४ लाख ७५ हजार ४४९.१५ कित्ता, प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यको एफपीओ निष्कासन गर्दैछ। यसबाट ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ संकलन गर्ने लक्ष्य छ। आवेदन पुस ९ गतेसम्म दिन सकिनेछ। यदि उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि पुस १९ गतेसम्म लम्बिनेछ।

एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यसका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सकिने व्यवस्था छ।

क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले यस संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।

लघुवित्तको हालको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ। एफपीओ निष्कासनपश्चात यो पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।

लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया