काठमाडौं । कोरोना महामारीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्रमा सन् २०२५ मा उल्लेखनीय सुधार देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२५’ अनुसार विदेशी पर्यटक आगमन, औसत बसाइ अवधि र पर्यटनबाट हुने आम्दानीमा वृद्धि भएको छ।
तथ्यांकअनुसार सन् २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ६२ हजार ३६५ पुगेको छ। यो सन् २०२४ को तुलनामा १.२९ प्रतिशत बढी हो। अघिल्लो वर्ष नेपालमा ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक आएका थिए।
पर्यटकको औसत बसाइ अवधि पनि उल्लेखनीय रूपमा बढेको छ। सन् २०२४ मा औसत १३.३ दिन रहेको बसाइ अवधि सन् २०२५ मा बढेर १६.३४ दिन पुगेको छ। यद्यपि, प्रतिपर्यटक दैनिक औसत खर्च भने ४०.८४ अमेरिकी डलरबाट घटेर ३३.०८ अमेरिकी डलरमा सीमित भएको छ। यसले पर्यटकहरू लामो समय नेपालमा बस्न थाले पनि दैनिक खर्च गर्ने प्रवृत्तिमा कमी आएको संकेत गरेको छ।
दैनिक खर्च घटे पनि लामो बसाइका कारण पर्यटनबाट हुने कुल विदेशी मुद्रा आर्जन भने बढेको छ। मन्त्रालयका अनुसार सन् २०२४ मा ८३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ रहेको पर्यटन आम्दानी सन् २०२५ मा ४.७७ प्रतिशतले बढेर ८७ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुगेको छ।
देशगत आधारमा नेपाल आउने पर्यटकमध्ये भारत पहिलो स्थानमा रहेको छ। सन् २०२५ मा भारतबाट २ लाख ९३ हजार पर्यटक नेपाल आएका छन्। त्यसपछि अमेरिका (१ लाख १३ हजार), चीन (९६ हजार), बेलायत (५९ हजार), बंगलादेश (५८ हजार) र अस्ट्रेलिया (५० हजार) रहेका छन्।
उद्देश्यका आधारमा हेर्दा ६०.२ प्रतिशत पर्यटक घुमफिर तथा मनोरञ्जनका लागि नेपाल आएका छन्। त्यस्तै १४.४ प्रतिशत तीर्थयात्रा, १४.२ प्रतिशत पदयात्रा तथा पर्वतारोहण र बाँकी ११.२ प्रतिशत अन्य प्रयोजनका लागि नेपाल आएको तथ्यांकले देखाएको छ।
पर्यटकीय गन्तव्यमध्ये अन्नपूर्ण संरक्षण क्षेत्र विदेशी पर्यटकको पहिलो रोजाइ बनेको छ। सन् २०२५ मा त्यहाँ ३ लाख १३ हजार ५४९ विदेशी पर्यटक पुगेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा १ लाख ३ हजार ९४४ तथा सगरमाथा राष्ट्रिय निकुञ्जमा ४७ हजार ५२४ विदेशी पर्यटक पुगेका छन्।
यस्तै, गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गत वर्ष कुल ११ लाख १३ हजार ६९६ पर्यटकले भ्रमण गरेका छन्। तीमध्ये ७ लाख २ हजार ९१० आन्तरिक तथा ३ लाख ६९ हजार ८१७ भारतीय पर्यटक रहेका छन्।
नियन्त्रित पदयात्रा क्षेत्रमध्ये गोरखाको मनास्लु क्षेत्र सबैभन्दा लोकप्रिय बनेको छ। सन् २०२५ मा मनास्लु क्षेत्रमा १४ हजार ७२० पर्यटक पुगेका छन्। त्यसपछि माथिल्लो मुस्ताङमा ४ हजार १७८ र गोरखाकै चुम उपत्यकामा २ हजार ५१३ पर्यटकले पदयात्रा गरेका छन्। यी क्षेत्रमा विशेषगरी अक्टोबर र अप्रिल महिनामा पर्यटकको चाप बढी रहने मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।
यातायातका माध्यममध्ये हवाईमार्ग नै पर्यटकको प्रमुख रोजाइ बनेको छ। सन् २०२५ मा कुल विदेशी पर्यटकमध्ये १० लाख १५ हजार ७३५ जना (८७.३९ प्रतिशत) हवाईमार्गबाट नेपाल प्रवेश गरेका छन् भने १ लाख ४६ हजार ६३० जना (१२.६१ प्रतिशत) स्थलमार्ग हुँदै नेपाल आएका छन्।