काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। लगातार तीन कारोबार दिनदेखि ओरालो लागेको नेप्से मंगलबार ०.७९ अंकले बढेर २ हजार ६४१.८५ विन्दुमा पुगेको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स ०.८५ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० अंकले बढेका छन्।
नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। सोमबार ३ अर्ब ६७ करोड रुपैयाँबराबरको कारोबार भएकोमा मंगलबार ३४० स्टकको ५२ हजार ७३ पटकको कारोबारमा ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैयाँबराबरको ९५ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ।
यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ५६ रुपैयाँ ९० पैसाले बढेर ४३६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।
यता, कारोबारमा आएको महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १४.९१ प्रतिशतले घटेको छ। मूल्य घटेका अन्य कम्पनीको गिरावट भने ६ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, रिडी पावर कम्पनीको ३३ करोड ५० लाख रुपैयाँभन्दा बढी र ङादी ग्रुप पावरको करिब १८ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये मंगलबार ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंकले बढेका छन्।
समग्रमा बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम ४ अर्ब रुपैयाँभन्दा माथि पुग्नुले लगानीकर्ताको कारोबार गतिविधि अघिल्लो दिनको तुलनामा बढेको देखिएको छ।