एकै दिन १२७ अंकले उकालो लाग्यो नेप्से, कारोबार रकम १३ अर्बमाथि

काठमाडौँ - सोमबारको दिन शेयर बजारले उल्लेखनीय वृद्धि गर्दै २८२३ विन्दुमा पुग्यो। कारोबारको शुरुवातमा बजारले २६८० विन्दु छोएपछि उकालो लाग्न थालेको हो। २६६५ देखि २६८० को क्षेत्रमा बजारले बलियो समर्थन पाउने अनुमान यसअघि गरिएको थियो, जुन फिबोनाची रिट्रेसमेन्टको आधारमा तय गरिएको थियो। यो समर्थन तहमा पुगेपछि लगानीकर्ताहरूमा बजार वृद्धि हुने आशा पलाउँदा उत्साह देखिएको छ।

बजार यसअघिको उच्च विन्दु ३१९८ को नजिक पुगेर घट्न थालेको थियो, जसले गर्दा लगानीकर्ताहरूले नयाँ उचाइ बन्ने अपेक्षा गरेका थिए। तर, बजारले उक्त अपेक्षा पूरा नगर्दा केही करेक्सन देखिएको थियो। अहिलेको बढोत्तरीलाई लगानीकर्ताहरूले उक्त करेक्सनको समाप्ति भनेर हेरेका छन्।

सोमबारको कारोबारमा १३ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको तुलनामा २४ प्रतिशतले बढी हो। ३३५ वटा धितोपत्रको तीन करोड १४ लाख कित्ता सेयर किनबेच भएको थियो। २३९ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।

सबै समूहगत परिसूचकमा सुधार देखिएकोले समग्र नेप्सेमा सुधार आएको हो। वित्त समूहको परिसूचक ७.९४ प्रतिशतले बढ्दा, लगानी समूहको परिसूचक ५.४५ प्रतिशतले उकालो लागेको छ। 

गुडविल फाइनान्सले सर्वाधिक कारोबार गर्दै ४६ करोड ५२ लाख रुपैयाँको सेयर किनबेच गरेको छ भने दोस्रो स्थानमा अपी पावर रहेको छ, जसले ४१ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। 

यसदिन सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने लक्ष्मी उन्नति कोषको मूल्य सर्वाधिक ४.७१ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय