काठमाडौं । रसुवामा बुधबार आएको बाढीले जलविद्युत आयोजना तथा विद्युत प्रसारण र वितरणसँग सम्बन्धित संरचनामा क्षति पुर्याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्रमा क्षति पुगेको छ। यस्तै, त्रिशूली–३ ‘बी’ हबअन्तर्गतको २२० केभी सबस्टेसन पनि प्रभावित भएको छ। त्रिशूली र देवीघाट जलविद्युत केन्द्रसहित विभिन्न वितरण संरचनामा समेत बाढीले असर गरेको प्राधिकरणले जनाएको छ।
विद्युत उत्पादन, प्रसारण र वितरणका संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। प्राधिकरणले आपूर्ति नियमित गर्न आवश्यक काम अघि बढाइरहेको भन्दै विद्युत सेवा सामान्य अवस्थामा नआएसम्म उपभोक्तालाई धैर्य गर्न आग्रह गरेको छ।
बाढीबाट विद्युत संरचनाबाहेक घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालन हुन आग्रह गरेको छ। बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास र जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारण तथा कर्मचारीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
यस्तै, प्राधिकरणले आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार मान्न र अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। पछिल्लो बाढीबाट ऊर्जा पूर्वाधारमा पुनः क्षति पुगेपछि रसुवाको विद्युत उत्पादन, प्रसारण तथा वितरण प्रणाली प्रभावित भएको छ।