काठमाडौँ। वाणिज्य बैंकहरूको निष्कृय कर्जाको अनुपात बढ्दो अवस्थामा रहे पनि खुद निष्कृय कर्जाको अनुपात घट्दै गएको छ। पछिल्लो तथ्यांकअनुसार, गत आर्थिक वर्षसम्म बैंकहरूको औसत निष्कृय कर्जा ३.४६ प्रतिशत पुगेको छ भने खुद निष्कृय कर्जा (नेट एनपीएल) मात्र १.१० प्रतिशतमा झरेको छ।
विशेषगरी, कुल निष्कृय कर्जा बढे पनि बैंकहरूले सम्भावित कर्जा नोक्सानीका लागि गरेको प्रावधानले खुद निष्कृय कर्जा नियन्त्रणमै रहेको छ। यस सन्दर्भमा राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बैंकहरूले गरेका प्रावधान हटाउँदा देखिने खुद निष्कृय कर्जा बैंकहरूको वास्तविक जोखिमको अवस्था बताउँछ भने। उनले भने, "खुद निष्कृय कर्जाले बैंकहरू जोखिमको तहमा पुगेका छैनन् भन्ने संकेत गर्छ।"
अघिल्लो वर्षको तुलनामा बैंकहरूको खुद निष्कृय कर्जामा केही सुधार देखिएको छ। २०८१ असार मसान्तसम्म वाणिज्य बैंकहरूको औसत खुद निष्कृय कर्जा १.१० प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष २०८० असार मसान्तमा १.१३ प्रतिशत थियो।
यस अवधिमा नेपाल एसबीआई बैंकको खुद निष्कृय कर्जा सबैभन्दा कम अर्थात् ०.२ प्रतिशत मात्र रहेको छ, जबकि यस बैंकको कुल निष्कृय कर्जा २ प्रतिशत छ। यससँगै ७ वटा बैंकहरूको खुद निष्कृय कर्जा १ प्रतिशतभन्दा कम रहेको छ। यता, लक्ष्मी सनराइज बैंकको खुद निष्कृय कर्जा १.९६ प्रतिशत रहेको छ, जुन सबैभन्दा उच्च हो। यसको कुल निष्कृय कर्जा भने ४.७२ प्रतिशत रहेको छ।
कुल निष्कृय कर्जाले बैंकहरूले लगानी गरेको कर्जाको कति हिस्सा जोखिममा छ भन्ने संकेत गर्छ। तर, सम्भावित कर्जा नोक्सानीका लागि गरिएको प्रावधान हटाएर देखिने खुद निष्कृय कर्जाले वास्तविक कर्जा नोक्सानीको अवस्था स्पष्ट गर्छ।
बैंकहरूले खुद खराब कर्जा भने वास्तविक नोक्सानको सूचक मान्दछन्। किनभने यस्तो कर्जाबाट बैंकलाई थप आय प्राप्त हुँदैन। बैंकरहरूका अनुसार, कम खुद निष्कृय कर्जाले बैंकहरूको जोखिम न्यून रहेको र आत्तिनुपर्ने अवस्था नरहेको देखाउँछ।