साताको पहिलो कारोबारमै नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घट्दै बन्द भएको छ। बजार परिसूचक १.२० अंकले ओरालो लागेर २६८४.३३ बिन्दुमा कायम भएको हो।

परिसूचकमा सामान्य गिरावट देखिए पनि कारोबार रकममा भने उल्लेखनीय वृद्धि भएको छ। सोमबार कुल ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस अवधिमा १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ।

यसअघि शुक्रबार ३ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ बराबरको कारोबार हुँदा ८८ लाख ५१ हजार २१६ कित्ता सेयर खरिद–बिक्री भएको थियो। यस आधारमा सोमबार कारोबार रकम र कारोबार भएका सेयर दुवैमा वृद्धि भएको देखिएको छ।

आजको कारोबारमा ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

कारोबार रकममा सुधार देखिए पनि अधिकांश कम्पनीको सेयर मूल्य घटेकाले बजारमा बिक्री चाप केही बढी रहेको विश्लेषण गरिएको छ। यद्यपि, बजारमा लगानीकर्ताको सक्रियता भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको देखिएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय