काठमाडौं — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आजपनि दोहोरो अंकले घटेको छ। मंगलबार ३५.७३ अंकले घटेको नेप्से आज फेरि ११.९७ अंकले घटेर २६४६.९५ विन्दुमा पुगेको छ। परिसूचकसँगै कारोबार रकम पनि घटेको देखिएको छ।
आज ३१३ कम्पनीका १ करोड ३७ लाख ८२ हजार ४६८ कित्ता सेयरहरू कुल ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ रुपैयाँमा खरिदबिक्री भएका छन्। यतिबेला मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने सोमबार सो रकम ९ अर्ब नाघेको थियो।
बजारमा दोहोरो अंकको गिरावट भएपनि दुई कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेर कारोबार भएका छन्। ओम मेघाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीका सेयर मूल्य १० प्रतिशतले वृद्धि भएका हुन्।
सुपर माइ हाइड्रोपावरको सेयर ७.३४ प्रतिशतले बढेको छ भने सनराइज फोकस्ड इक्वीटी फण्डको सेयर ४.५२ प्रतिशतले उक्लिएको छ। आज सबैभन्दा धेरै, ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्दै अरुण कावेली पावर शीर्षस्थानमा देखिएको छ।
त्यसैगरी राधी विद्युत कम्पनीको २९ करोड, नगदी ग्रुपको २२ करोड, र युनिभर्सल पावर तथा बरुण हाइड्रोपावरको २०/२० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
आज म्युचुअल फण्ड र ट्रेडिङ समूहबाहेक अन्य सबै समूहको उपसूचक ऋणात्मक रहेको छ।