काठमाडौँ – सेयर बजारमा गिरावटको क्रम आज पनि रोकिएन। नेप्से परिसूचकसँगै कारोबार रकम पनि निरन्तर घट्दै जाँदा लगानीकर्ताहरू चिन्तित भएका छन्।
बुधबार नेप्से परिसूचक २२ अङ्कभन्दा धेरैले घटेर २६१० बिन्दुमा आइपुगेको छ। यस दिन ३२७ कम्पनीहरूको सेयर खरिद बिक्री हुँदा मात्र ६६ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ, जबकि बाँकी सबै कम्पनीहरूको सेयर मूल्य घटेको छ।
आजको कारोबारमा ६ अर्ब ८५ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। वित्त, जीवन बीमा र व्यापार उपसमूह सामान्य रूपमा बढे पनि अन्य सबै उपसमूहमा गिरावट देखिएको छ। बीमा समूह र लगानी समूहमा सबैभन्दा बढी गिरावट भएको छ।
कारोबार भएका कम्पनीहरूमध्ये एक कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने सिडीएचसी जलविद्युत कम्पनीको सेयर सबैभन्दा धेरै खरिद भएको छ।
नयाँ सरकार गठनपछि सेयर बजारको कारोबार रकम ३० अर्ब हाराहारी पुगेको भए पनि हालसालै नेप्से र कारोबार रकममा निरन्तर गिरावट देखिएको छ, जसले गर्दा लगानीकर्ताहरू निराश भएका छन्।