काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हाल ८२ वटा कम्पनी प्राथमिक सेयर (आईपीओ) निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दुई महिना अघि पदभार सम्हालेपछि बोर्डले जम्मा तीन कम्पनीलाई मात्र आईपीओ जारी गर्न स्वीकृति दिएको छ।
हालसम्म नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, र ओम मेघाश्री फर्मास्यूटिकल्सले मात्र आईपीओ निष्कासनको अनुमति पाएका छन्। अन्य कम्पनीहरूले स्वीकृतिको प्रतीक्षा गरिरहेका छन्, जसमा हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, माइक्रो इन्स्योरेन्सलगायतका कम्पनीहरू छन्।
धितोपत्र बोर्डका अनुसार आईपीओका लागि अनुमति मागेका कम्पनीहरूले कूल ५१ अर्ब ११ करोड रुपैयाँ बराबरको ३५ करोड ५० लाख कित्ता सेयर जारी गर्नेछन्। तीमध्ये ४२ वटा हाइड्रोपावर कम्पनीहरू मात्र १८ अर्ब ३१ करोड रुपैयाँ बराबरको १७ करोड ९० लाख कित्ता सेयर जारी गर्ने योजनामा छन्।
तर, सार्वजनिक लेखा समितिले प्रतिसेयर नेटवर्थ ९० भन्दा कम भएका हाइड्रोपावर कम्पनीहरूलाई आईपीओ स्वीकृति नदिन दिएको निर्देशनले हाइड्रोपावर कम्पनीहरूको निष्कासन प्रक्रिया प्रभावित भएको बोर्डका अधिकारीहरू बताउँछन्।
यसैबीच, लामो समयदेखि अनुमति पर्खिरहेका कम्पनीहरूले आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने भएकाले प्रक्रिया केही ढिलो भएको बोर्डले जनाएको छ। स्वीकृतिका लागि प्रक्रिया पूरा गरेका कम्पनीहरूलाई क्रमिक रूपमा आईपीओ जारी गर्न अनुमति दिइने बोर्डका अधिकारीहरूको भनाइ छ।
आईपीओ निष्कासन रोकिँदा जलविद्युत् र अन्य क्षेत्रका कम्पनीहरूले अर्बौंको आयोजना प्रभावित भएको भन्दै व्यवसायीहरूले चासो व्यक्त गरेका छन्।