सागर डिष्टिलरी लिमिटेडले आज (भदौ ३० गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको हिस्सा बाँडफाँट भइसकेको छ। अब भने सर्वसाधारण लगानीकर्ताका लागि ११ लाख ९० हजार ६४० कित्ता शेयर बिक्रीमा ल्याइएको हो।
कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशतबराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। जसअन्तर्गत १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशत (७२ हजार ६०० कित्ता) सामूहिक लगानी कोषलाई र ४३ हजार ५६० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी हिस्सा अब सर्वसाधारणलाई खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन असोज २ गतेसम्म दिन सकिनेछ भने सो अवधिभित्र मागअनुसार आवेदन नपरेमा असोज १३ गतेसम्म अवधि लम्बिन सक्नेछ।
यस आईपीओलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले आईआरएन सिंगल बी प्लस रेटिङ्ग दिएको छ। यसले कम्पनीको ऋण दायित्व समयमै तिर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।