आज (जेठ २० गते) ट्रेड टावर लिमिटेड र विकास हाइड्रोपावर लिमिटेडले निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने अन्तिम दिन हो। दुवै कम्पनीले सर्वसाधारणका लागि शेयर निष्काशन गरेका छन्, जसमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि आईपीओ निष्काशन गरेको थियो, जुन १९ गतेसम्म खुला रहने तय भएको भए पनि भोटो जात्राको अवसरमा उपत्यकामा परेको सार्वजनिक बिदाका कारण एक दिन म्याद थप गर्दै आवेदनको अन्तिम म्याद आजसम्म लम्ब्याइएको हो।
कम्पनीले ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि छुट्याइएको शेयरको बाँडफाँट भइसकेको छ। यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिनेछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
यस्तै, विकास हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको छ। कुल ४४ लाख ५४ हजार ५९६ कित्तामध्ये प्रभावित क्षेत्रका बासिन्दाका लागि ९ लाख ९ हजार १०१ कित्ता, वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ३ लाख ५४ हजार ५५० कित्ता, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी २९ लाख ४२ हजार ७६० कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो। यसमा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
दुवै कम्पनीको आईपीओमा 'मेरो सेयर' अनलाइन प्रणालीमार्फत तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाका सि-आस्बा शाखाबाट आवेदन दिन सकिनेछ। ट्रेड टावरलाई इक्रा नेपालले BB- र विकास हाइड्रोपावरलाई BBB- को इक्रा एनपी रेटिङ्ग दिएको छ, जसले दुबै कम्पनीमा मध्यमदेखि औसत जोखिम रहेको संकेत गर्दछ।