मंगलबार पनि नेप्सेमा गिरावट,कारोबार रकम पनि ओरालो लाग्दै

काठमाडौं — मंगलबार पनि नेपाली सेयर बजारमा गिरावट देखिएको छ, जसले लगानीकर्ताको मनोबलमा थप दबाब सिर्जना गरेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ११.६४ अंकले घटेर २६३५.४२ बिन्दुमा झरेको छ। बजार सूचकसँगै कारोबार रकममा समेत उल्लेख्य गिरावट आएको छ। सोमबार ८ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएकोमा आज कारोबार रकम ७ अर्ब ५७ करोड रुपैयाँमा सिमित रह्यो।

आज म्युचुअल फण्ड र लगानी समूहबाहेकका सबै क्षेत्रगत सूचक ओरालो लागे। दिनभर ३११ कम्पनीका १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भए। तीमध्ये ५७ कम्पनीका सेयर मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको हो।

सेयर मूल्यमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्स अगाडि रहे, जसको मूल्य क्रमशः १० प्रतिशत र ९.९९ प्रतिशतले उक्लिएको छ। यस्तै, राधी विद्युत, रसुवागढी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, र सुपर मादी हाइड्रोपावर जस्ता कम्पनीका सेयर पनि उकालो लागे।

अर्कोतर्फ, भोटेकोशी जलविद्युत, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीनलाइफ हाइड्रोपावर, र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर जस्ता कम्पनीको मूल्यमा भने उल्लेख्य गिरावट आएको छ।

कारोबारको आधारमा सानिमा माइ हाइड्रोपावरले सबैभन्दा बढी कारोबार गर्दै अग्रस्थान कायम राख्यो। त्यसपछि ङादी ग्रुप पावर, राधी विद्युत, एनआरएन इन्फ्रास्ट्रक्चर, र एचआइडीसीएल क्रमशः कारोबारमा अगाडि देखिए।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय