काठमाडौं— लामो समयपछि सेयर बजारले हरियाली देखाएको छ। लगातार ओरालो लागेको बजार बुधबार ४५.८८ अंकले बढेर २७१५.७१ बिन्दुमा पुगेको छ। कुल २११ कम्पनीको सेयर मूल्य बढेको र ५ अर्ब ५ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ।
गत साता लगातार गिरावट देखिएको बजार यो साताको पहिलो तीन दिन पनि क्रमशः ४५.९३, १२.८४ र ६.३२ अंकले घटेको थियो। तर, बुधबारको कारोबारमा सुधार आएको छ। यद्यपि, २९ कम्पनीको सेयर मूल्य घटेको र तीन कम्पनीको मूल्य स्थिर रहेको छ।
लगानीकर्ताहरू बजारप्रति अझै विश्वस्त हुन सकेका छैनन्। विश्लेषकहरूका अनुसार, बजारले वृद्धितर्फको संकेत देखाए पनि लगानीकर्ताको भरोसा कायम नभएसम्म नयाँ उचाइमा पुग्न समय लाग्नेछ।
२०७८ भदौ २ गतेको ३१९९ बिन्दुको ऐतिहासिक रेकर्ड तोड्ने अपेक्षामा लगानीकर्ता छन्। तर, हालसम्म बजारमा 'पर्ख र हेर' को अवस्था कायम छ।
यसअघि साउनमा लगातार उछाल आएको बजार भदौमा कमजोर देखिएको थियो। असोजमा केही सुधार देखिए पनि कात्तिकमा स्थिर रह्यो। मंसिरमा नयाँ उचाइको अपेक्षा राखिए पनि बजारले अझै त्यो गति समाउन सकेको छैन।