ट्रेड टावर लिमिटेडले आज (जेठ १५ गते) देखि सर्वसाधारणका लागि प्राथमिक साधारण सेयर (IPO) निष्कासन तथा बिक्री खुला गरेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सेयर बाँडफाँट गरिसकेको थियो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त अनुसार ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँ बराबरको जारी पूँजीमध्ये ४८.६९६ प्रतिशत हिस्सा, अर्थात ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको सेयर निष्कासन गर्न पाउने स्वीकृति पाएको हो। अब कम्पनीले त्यसअनुसार ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्दैछ।
यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता र कर्मचारीहरूका लागि ७९ हजार ४३३.८६ कित्ता सेयर बाँडफाँट गरिसकिएको छ।
सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। IPO निष्काशन छिटोमा जेठ १९ गते बन्द हुनेछ भने सो अवधिमा पूरै आवेदन नपरेमा यो म्याद जेठ २८ गतेसम्म लम्बिन सक्नेछ।
लक्ष्मी सनराइज क्यापिटल लिमिटेड यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक हो। इच्छुक लगानीकर्ताहरूले ‘मेरो सेयर’ सफ्टवेयर प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। साथै, धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस (ICRANP IR BB-) रेटिङ्ग दिएको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ।