बजेटअघि नेप्सेमा हरियाली, कारोबार ६ अर्बमाथि

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनुअघि भएको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य गिरावट देखिएको बजार बुधबार भने सकारात्मक बनेको हो।

यस दिन नेप्से परिसूचक ४.९९ अंकले बढेर २७८२.१० विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इण्डेक्स १.२१ अंकले वृद्धि भएको छ। फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.४३ अंकले बढेका छन्।

कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। मंगलबार ४ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ३५४ कम्पनीका १ करोड ५२ लाख ४९ हजार कित्ता शेयर ६० हजार ५६२ पटक किनबेच हुँदा कुल ६ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

यस दिन कालिञ्चोक हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १४.९८ प्रतिशतले बढेको छ। बुंगल हाइड्रोको शेयर मूल्य पनि करिब १४ प्रतिशतले उकालो लागेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ। घट्ने कम्पनीतर्फ सानिमा डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक ६.६४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको ७१ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यस्तै, रिडी पावर कम्पनीको ४३ करोड रुपैयाँभन्दा बढी तथा नेशनल हाइड्रोपावरको ३२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

उपसमूहतर्फ १३ मध्ये ९ उपसमूहमा हरियाली छाएको छ भने ४ उपसमूहमा गिरावट देखिएको छ। बैंकिङ, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा तथा व्यापार समूहमा सामान्य वृद्धि भएको हो।

प्रतिक्रिया