बुङ्गल हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) भदौ १६ गतेदेखि खुला गर्ने भएको छ। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ बाँडफाँट भइसकेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गर्न लागिएको हो।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँबराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता आयोजना प्रभावित स्थानीयका लागि र २ लाख ७ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ। यस्तै, १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि र ६२ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित राखिएको छ।
अब दोस्रो चरणमा सर्वसाधारणका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरिनेछ। प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आईपीओ छिट्टैमा भदौ १९ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म खुला रहनेछ।
आईपीओ निष्काशनको लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी बी (सिंगल बी)’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत स्तरको जोखिम रहेको जनाउँछ।
कम्पनीले सञ्चालनमा ल्याएको १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजना ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँमा निर्माण भएको हो। प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ रहेको छ। आयोजनाको विद्युत अनुमतिपत्र २६ वर्ष १० महिना बाँकी छ। यस आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.८५ वर्ष र डिस्काउन्ट गरिएको लगानी फिर्ता अवधि २२.२९ वर्ष रहने अनुमान गरिएको छ।
उक्त आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन सफ्टवेयर प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।