१ अर्ब ३३ करोड रुपैयाँ बराबरको हकप्रद ल्याउँदै सिटी होटल

काठमाडौं । सिटी होटल लिमिटेड (CITY) ले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशत बराबरको हकप्रद शेयर ल्याउने घोषणा गरेको हो। यसअनुसार लगानीकर्ताले १० कित्ता सेयरका विरुद्धमा ८ कित्ता अनुपातमा नयाँ सेयर पाउने व्यवस्था हुनेछ।

कम्पनीले यस पटक प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरमा १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ हुनेछ। यसअघि कम्पनीले हकप्रद प्रयोजनका लागि साउन २७ गते बुकक्लोज गरेको थियो। त्यसैले साउन २६ गतेसम्म कायम सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। हकप्रदमा आवेदन दिने अन्तिम मिति असोज १२ गते तोकिएको छ।

निष्काशनको लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी माइनस’ रेटिङ दिएको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ। यस हकप्रद निष्काशनको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड तोकिएको छ।

लगानीकर्ताले प्रभु क्यापिटलसँगै प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी तथा ‘मेरो शेयर’ अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ। संकलित रकम ऋण भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय