काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठनसँगै सेयर बजारमा नयाँ उत्साह आउने अपेक्षा गरिएको थियो। राजनीतिक स्थायित्व, नीतिगत स्पष्टता र निजी क्षेत्रमैत्री आर्थिक सुधारको आशामा लगानीकर्ताले बजारबाट सकारात्मक संकेत खोजेका थिए। तर सरकार गठन भएको तीन महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार ओरालो लाग्दा लगानीकर्ताको करिब साढे तीन खर्ब रुपैयाँ बराबरको सम्पत्ति घटेको छ।
प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएपछि चैत १५ गते २ हजार ८७९ बिन्दुमा रहेको नेप्से परिसूचक बुधबारसम्म आइपुग्दा २ हजार ६५२.९३ बिन्दुमा झरेको छ। यस अवधिमा बजार करिब २२६ अंकले घटेको छ। त्यस्तै बजार पुँजीकरण पनि करिब ४८ खर्ब ९४ अर्ब रुपैयाँबाट घटेर ४५ खर्ब ४३ अर्ब रुपैयाँमा सीमित भएको छ।
सरकार गठनपछि बजारमा देखिएको प्रारम्भिक उत्साह लामो समय टिक्न सकेन। लगानीकर्ताले अपेक्षा गरेका आर्थिक सुधारका कार्यक्रम तत्काल कार्यान्वयनमा नआउनु, बजेटमार्फत पुँजी बजारलाई प्रत्यक्ष राहत दिने व्यवस्था नहुनु तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने स्पष्ट नीति नदेखिनुले बजारमा निराशा बढाएको विश्लेषण गरिएको छ।
लगानीकर्ताहरूका अनुसार सरकारले निजी क्षेत्रलाई विश्वासको वातावरण दिन नसकेको असर पनि पुँजी बजारमा परेको छ। निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण अझै सकारात्मक बन्न नसक्दा लगानी विस्तारमा हिच्किचाहट बढेको उनीहरूको भनाइ छ। साथै निजामती कर्मचारी, प्रहरी तथा सुरक्षाकर्मीले सेयर कारोबारमा अपनाउनुपर्ने सावधानीबारे बढेको अन्योलले पनि बजारमा बिक्री दबाब बढाएको बताइन्छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले भने सरकारको प्राथमिकता दीर्घकालीन आर्थिक सुधार रहेको बताएका छन्। उनका अनुसार सरकार अल्पकालीन बजार उतारचढावभन्दा संरचनात्मक सुधार, आर्थिक गतिविधि विस्तार र दीर्घकालीन विकासका लक्ष्यमा केन्द्रित छ। तर लगानीकर्ताहरूले बजारलाई आश्वस्त पार्ने स्पष्ट कार्ययोजना र सुधारको रोडम्याप अझै नदेखिएको गुनासो गरिरहेका छन्।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले पनि बजारलाई अपेक्षित उत्साह दिन नसकेको विश्लेषण गरिएको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त रहनु, उत्पादन तथा व्यापारिक गतिविधि अपेक्षाअनुसार विस्तार नहुनु र लगानीको वातावरण पूर्ण रूपमा सहज बन्न नसक्दा नयाँ लगानी बजारमा आकर्षित हुन सकेको छैन।
सूचीकृत कम्पनीहरूको वित्तीय प्रदर्शन पनि बजारका लागि उत्साहजनक बन्न सकेको छैन। बैंक तथा वित्तीय संस्थाको नाफा वृद्धिदर सुस्त देखिएको छ भने उत्पादनमूलक क्षेत्रका कम्पनीमाथि पनि दबाब कायम छ। लाभांश वितरण क्षमताप्रति देखिएको अन्योलका कारण धेरै लगानीकर्ता अहिले पनि ‘पर्ख र हेर’को रणनीतिमा छन्।
बजार निरन्तर घट्दा त्यसको प्रभाव केवल लगानीकर्तामा मात्र सीमित रहँदैन। बजार पुँजीकरण घट्दा कम्पनीहरूको मूल्यांकन कमजोर हुन्छ, जसले नयाँ सार्वजनिक निष्कासन (आइपिओ) तथा थप सेयर बिक्रीमार्फत पुँजी जुटाउने क्षमतामा असर पार्न सक्छ। साथै धितो कर्जामा आधारित लगानीकर्तामाथि थप वित्तीय दबाब सिर्जना हुने जोखिम पनि रहन्छ।
यद्यपि लगातार सात कारोबार दिनसम्म घटेको बजारमा बुधबार भने सुधार देखिएको छ। नेप्से परिसूचक ४४.५९ अंकले बढेर २ हजार ६५२.९३ बिन्दुमा पुगेको छ। कारोबार रकममा पनि वृद्धि भएको छ। मंगलबार ३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ३ अर्ब ८६ करोड ११ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
बुधबार कारोबार भएका सबै १३ उपसमूहका परिसूचक हरियालीमा बन्द भएका छन्। व्यापार उपसमूह सबैभन्दा बढी २.६० प्रतिशतले बढ्दा जलविद्युत्, उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा उपसमूहमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जीवन बिमा, लघुवित्त र लगानी उपसमूहहरू पनि सकारात्मक बनेका छन्।
विश्लेषकहरूका अनुसार सात दिनको निरन्तर गिरावटपछि आएको यो सुधारले लगानीकर्ताको मनोबल केही बलियो बनाएको छ। तर बजारले स्थायी सुधारको दिशा समात्न नीतिगत स्पष्टता, निजी क्षेत्रमैत्री वातावरण, आर्थिक गतिविधिको विस्तार तथा लगानीकर्ताको विश्वास पुनः स्थापित हुनु आवश्यक रहेको उनीहरूको निष्कर्ष छ।